|कर्तवा चोकमा स्थापना गरिएको महाकवि देवकोटाको शालिक
बारा : लक्ष्मीपूजाका दिनबाट जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को कतर्वा चोकको परिचय फेरिएको छ । वडा नं.१६ ले सो चोकमा ४ लाख रुपैंयाबढी रकम खर्चेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको शालिक निर्माण गरेसँगै सो ठाउँको परिचय फेरिएको हो ।
लक्ष्मीपूजाका दिन विशेष कार्यक्रमको आयोजनागरी शालिक अनावरण गरिएपछि सो स्थानको नाम देवकोेटा चोक परिभाषित भएको हो । यसअघि यस ठाउँलाई कतर्वा चोक, नमुना चोक, बदाफर चोक भन्दै आएका थियौं, अव यसको नाम देवकोटा चोक भएको छ, स्थानिय संचारकर्मी गणेशराज रिजालले भन्नुभयो ।
बारा क्षेत्र नं.३ की साँसद एवं पूर्वमन्त्री ज्वाला कुमारी साहले शालिक अनावरण गर्नु भएको हो । वडा अध्यक्ष हरिदेव खरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री साह, प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीको सहभागिता रहेको थियो ।
महाकवि देवकोटाको शालिक अनावरणका अवसरमा आयोजित विशेष कार्यक्रममा विभिन्न सर्जक एवं स्रष्ठाहरुले कविता वाचन गरेका थिए । सोही अवसरमा स्थानिय यूवा सर्जक अविनाश सापकोटाको गजल संग्रह अग्राखको लोकार्पण समेत गरिएको थियो ।
कार्यक्रममा प्रशंसा भट्टराई,निशिका बस्नेत,जेनिस उप्रेती, अञ्जली गुरुङ्ग लगायतका स्कुले बालबालिका देखी चर्चित सर्जकहरुले महाकवि देवकोटा र उहाँका कृतिहरुको महिमा सहितका रचना सुनाएका थिए ।
यस्तै थारु भाषाका साहित्यकार हृदयनारायण चौधरी, भोजपुरी साहित्यीक विकास मञ्चका महासचिव सुनिल कुमार, साहित्यकार रामप्रसाद अधिकारी, प्रदिप धनञ्जय, राजु अधिकारी, सुनिल गाउँले लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रम स्थानिय साहित्य प्रेमी नवराज रिजालको सहजीकरणमा सम्पन्न भएको हो ।
देवकोटाको शालिक स्थानिय नवराज रिमालको अध्यक्षता, सचिव राजन रिमाल, कोषाध्यक्ष शान्ता न्यौपाने, सदस्यहरु पाण्डु सापकोटा, नवराज रिमाल, गिता उप्रेती र गायत्री रिमालको अगुवाईमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष खरेलले जानकारी दिनुभयो ।