बारा ।साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका विभागिय प्रमुख शिवहरि अर्याल सहितको टोलीले आईतबार जिल्लाका मनहर्वा र सपहिमा रहेका दुई साना किसान कृषि सहकारी संस्थाका संचालक कर्मचारीहरुसँग भेटघाट गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा र कोल्हवी नगरपालिका ४ सपहिमा रहेको साना किसान कृषि सहकारी संस्थामा टोली पुगेको हो ।
ती संस्थाका कर्मचारी, संचालक एवं लेखा समिति र अन्तर समुहका अगुवाहरुको संयूक्त भेलालाई अर्यालले सहजीकरण समेत गर्नु भएको थियो । छोटो कार्यक्रमका रुपमा वित्तिय संस्थाले देशभर लगानी योग्य संस्थाहरुका अगुवाहरुलाई कर्जा सहजीकरण सम्बन्धि कार्यक्रम संचालन गरिरहेको छ । सोही क्रममा अर्यालको टोली बारा आएको हो ।
पछिल्ला समय सहकारी अभियानमा देखिएका समस्या साना किसान सहकारी संस्थाहरुमा आउन नदिन सदस्यमैत्री कारोबारमा जोडदिन वित्तिय संस्थाका विभागिय प्रमुख अर्यालले सहकारीका जिम्मेवार पधादिकारीहरुलाई अनुरोध गर्नु भएको छ ।
साना किसान सहकारी संस्थाहरुकै मुख्य लगानीमा संचालनमा रहेको वित्तिय संस्थाले आफ्नै सदस्य संस्थाहरुलाई थोक कर्जा दिँदै आएको छ । कर्जाका अलावा वित्तिय संस्थाले साना किसान सहकारी संस्थाहरुको नियमन अनुगमन गर्ने, कर्मचारी संचालकहरुलाई वित्तिय ब्यवस्थापन, वित्तिय अनुशासन, संस्थागत विकास, क्षमता अभिवृद्धि लगायतका विषयमा समेत काम गर्दै आएको विभागिय प्रमुख अर्यालले बताउनु भयो ।
देशभरका एकहजार २ सय सहकारी संस्थाहरु साना किसान विकास लघुवित्त वित्तिय संस्थामा आवद्ध छन् । वित्तिय संस्थाले २०८१ असोज सम्म करिब ३५ अरब सहकारी संस्थाहरु मार्फत कारोबार गर्दै आएको उस्को बार्षिक प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा उसले ३२ करोड बढी खुद मुनाफा गरेको उल्लेख समेत गरेको छ ।
शेयर बजारमा बलियो छाप छोड्न सफस साना किसान विकास लघुवित्ति वित्तिय संस्थाले देशका विकट सहित ७५ जिल्लामा सहकारीहरु मार्फत सेवा दिँदै आएको जनाएको छ ।
विभागिय प्रमुख शिवहरि अर्याल सहित वित्तिय संस्थाको हेटौंडा शाखाका प्रमुख भोलानाथ रेग्मी, अधिकृत रामबाबु सिंह लगायत टोलीमा सहभागी थिए । मनहर्वामा सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काको र सपहिमा अस्तुर्नी चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।