बारा :दुर्घटना न्युनिकरणका लागि सडक शुरक्षामा कडाई हुने भएको छ । सुक्रबार कलैया स्थीत जिल्ला समन्वय समिति बाराको सभाकक्षमा आयोजित सरोकारवालाहरुको भेलाले सडक शुरक्षाका लागि सवारी ब्यवस्थापन र चेकजाँचमा कडाई गर्ने निर्णय गरेको हो ।
जिल्ला शुरक्षा संयन्त्रका प्रमुख समेत रहुनु भएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा जिल्लाको ट्राफिक ब्यवस्थापन सम्बन्धि सरोकारवालासँगको छलफल कार्यक्रमबाट यस्तो निर्णय भएको हो ।
निर्णयसँगै सडकमा हुने लापरबाही माथि कडा निग्रानी सहित कार्वाही हुने भएको छ । साना, ठुला सवारीको ब्यवस्थापन, जथाभावी संचालन एवं पार्किङ , बिना लाइसेन्स , बिना हेल्मेट , अत्यधिक लोडगरी सवारी संचालन , क्षमता भन्दा बढी यात्रु बोकेर हिडडुल गरे जुनसुकै बेला कार्वाहीमा परिने छ । जेल सम्म जानु पर्ने अवस्था आउने छ ,निर्णयमा भनिएको छ ।
सडकमा निर्माण सामाग्री राख्ने, पशु चौपाया छोड्न पाइने छैन । सडकमा जथाभावी पार्किङ गरे सवारी धनी र चालक कार्वाही पर्नेछन् । प्रेसर हर्न समेत बजार क्षेत्रमा निस्तेज गरिने भएको छ । भने पालिका स्थतरमा समन्वय गरि उचित पार्किङ्ग क्षेत्र तोकिने छ ।
सवारी धनी, ब्यवसायीहरुले आफ्ना सवारी वा सेवग्राहीका सवारी पार्किङ्ग आफैंले आफ्नो जग्गामा ब्यवस्थापन गर्नुपर्ने छ । सार्वजनिक सडकलाई ब्यवसायले प्रयोग गरे त्यसको जिम्मा स्वयम्ले लिनुपर्ने छ । शहरको सौन्दर्यता र सवारी ब्यवस्थापनमा कुनै किसिमको मोलाहिजा नहुने निर्णयमा भनिएको छ ।
कमजोरी गरेर कार्वाहीमा पर्नेहरुको विषयमा भनसुन गर्ने ,छाडीदिनु भन्ने सामाजिक अगुवाहरुको समेत नाम सार्वजनिक गरिने भएको छ । सडक धर्म निर्वाह गर्न बैठकले सबैमा अनुरोध गर्ने पनि निर्णय गरेको बाराका प्रजिअ अधिकारीले जानकारी दिनु भयो ।
अटो, रिक्सा, मयूरीलाई मुख्य राजमार्गहरुमा गुड्न रोक लगाईने छ । भने एउटा पालिकामा दर्ता भई संचालनमा रहेका यस्ता साना सवारीलाई अर्को पालिका भित्र संचालनमा तुरुन्तै रोक लगाईने भएको छ । यस्तै कलैयाको यातायात सहजताका लागि बसपार्कको प्रयोगलाई बाध्यकारी बनाईने र त्यसका लागि आवश्यक सहयोग नगरप्रमुख विनोद साहको अगुवाईमा कलैया उपमहानगरपालिकाले गर्ने पनि बैठकमा निर्णय भएको प्रजिअ अधिकारीले बताउनु भयो ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार साह ,कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोद साह,प्रजिअ बसन्त अधिकारी, नेपाली सेनाको ज्वाला दलगणका सेनानी रामकृष्ण हुमागाँई प्रतिनीधि, जिल्लाका प्रहरी प्रमुख एसपी महेन्द्र खड्का कार्यक्रममा सहभागि थिए ।
यसैगरी नेपाल प्रहरी राजमार्ग शुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी भीम किरण बोगट्टी, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेपाल पत्रकार मसहासंघ सचिव पुष्पराज खतिवडा, सहसचिव ईन्दीप कोईराला, उद्योग बाणिज्य संघ, विभिन्न एकदर्जनबढी साना ठुला यात्रुवाहक यातायात ब्यवसायी संगठनका प्रतिनीधिहरु छलफल कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराकी प्रमुख प्रहरी निरिक्षक नीरु दुवालले सडकमा देखिएका प्रमुख समस्या, सडक शुरक्षामा अपनाईएका गतीविधि र सरोकारवालहरुसँगको अपेक्षा सहितको कार्यपत्र पेश गर्नु भएको थियो ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र ट्राफिक प्रहरी निरिक्षक दुवालको सहजजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।