बारा ।
बारामा प्रहरी कर्मचारीको हत्यामा संलग्न राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का इन्सपेक्टरसहित तीन जना पक्राउ परेका छन्। जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका राज कुमार रूम्बाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका–३ घर भई बारामा कार्यरुत गुप्तचरका इन्सपेक्टर श्रीकान्त तिवारीको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
तिवारीसहित प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१९ घर भएका २७ वर्षीय पुरूषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहानलाई पक्राउ गरी बारा प्रहरीले सार्वजनिक गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा राज कुमार पुस ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए । सो कार गुप्तचरका इन्सपेक्टर तिवारीको हो।
उनीहरुले कलैया जाने भनेर रुम्बालाई बोलाएको बाटोमा पिसाब फेर्न भनेर गाडी रोकी टाउकोमा गोली हानेर हत्या गरेको बाराका एसपी महेन्द्र खड्काले बताए। गोली दासले प्रहार गरेको प्रहरीले जनाएको छ ।