सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा रहेको मौलाकालिका डेरी प्रा.लि.ले सिमरामा नयाँ विक्री केन्द्र शुरुवात गरेको छ ।
तीन बर्षदेखि डुमरवानामा सञ्चालनमा रहेको मौलाकालिका डेरी प्रा.लि.ले सहकार्य ब्राण्डमा दुध, दही, घिउ, पनिर, पुष्टकारी लगायत दुग्धजन्य सामग्रीको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।
सिमराको विकाशशील चोकमा शुरुवात भएको नयाँ विक्री केन्द्रबाट सिमरा बजार क्षेत्रका ग्राहकहरुलाई ताजा दुध तथा दुधजन्य उत्पादन पुर्याउने उद्देश्य राखिएको उद्योगका सञ्चालक दिपक कार्कीले जानकारी दिए ।
मौलाकालिका डेरी डुमरवानाका युवा व्यवसायीको टिमले सञ्चालनमा ल्याएको हो । जीतपुरसिमरा १५ का वडाध्यक्ष समेत रहेका रामप्रसाद लामिछाने, दिपक कार्की, सुर्य लामिछाने र दिपक रेग्मी लगायतका युवा सञ्चालक रहेको सो उद्योगले जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना, रामबन, उचिडी,कञ्चनपुर तथा कलैया उपमहानगरपालिकाको भोडाहा, दोहरी र सखुईमा संकलन केन्द्र राखेर किसानबाट दुध खरिद गर्ने गरेको छ । उद्योगको आवश्यक्ता अनुसार निजगढको बागदेव दुग्ध सहकारीबाट समेत दुध खरिद गर्ने गरिएको उद्योगका अध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिए ।
उद्योगले डुमरवाना र अमलेखगञ्जमा यसअघिनै विक्री केन्द्र स्थापना गरेको थियो भने तेश्रो विक्री केन्द्रका रुपमा सोमबार सिमरामा सेवा शुरु गरेको हो । सोमबार विहान विक्री केन्द्रको शुभारम्भ गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले युवा उद्यमीले उपमहानगरमा शुरु गरेको उद्यम प्रवद्र्धनमा उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले मौलाकालिका डेरी उद्योग तथा विक्री केन्द्रको सफलताको शुभकामना दिएका थिए । सिमरा विक्री केन्द्रको शुरुवात तथा होली पर्वको उपलक्ष्यमा उद्योगले आफ्नो प्रत्येक उत्पादनमा १० प्रतिशत छुट समेत प्रदान गरिरहेको छ ।