|कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठ
बारा । जिल्लाको जीतपुरसिमरा उपमहानरपालिका वडा नं.१५मा रहेको डुमरवाना बहुमुखी क्याम्पसको १७ औं बार्षिकोत्सव तथा १८ औं स्थापना दिवस विशेष कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
विशेष समारोह बीच बारा क्षेत्र नं.४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ(किसान)ले क्याम्पसको बार्षिक उत्सवको उद्घाटन गरे । नेपाल सरकारका पूर्वमन्त्री समेत रहेका श्रेष्ठले मधेश विश्वविद्यालयले संचालन गर्ने गरी प्राविधिक कलेज खोल्न आफुले आवश्यक जमिन दिने बताए । प्राविधिक शिक्षालय संचालनमा २ विगाह जमिन जीतपुरसिमरा उपमहानगरपालिका भित्र सके सरकारी नसके किसान श्रेष्ठले दिन्छ तयारी थाल्नुस् उनले भारीसभामा बचन दिए ।
शिक्षाको विकासका लागि आफुले जानेको कुरा र गर्न सक्ने काममा कहिले पछीहट्दिन उनले भने । हिम्मत र आँट सहित केही गर्न भनेर आफु बारा आएको भन्दै श्रेष्ठले काम गर्न कुनै पार्टी नभै दृढसंकल्पको जरुरी हुने बताए ।
यस्तै कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रो. डा. दिपक शाक्यले शिक्षालाई सीप सहितको प्रविधियूक्त माध्यम बनाउन सके विद्यार्थीको कमी नहुने बताए । विश्वविद्यालय मार्फत प्रविधियूक्त सिप सहितको शिक्षाको विकास आजको आवश्यकता हो । शिक्षा गरिखाने बनाउन सके विद्यार्थी पलायन रोक्न सकिन्छ, उपकुलपति शाक्यले भने ।
यस्तै पूर्व प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवले कलेज संचालनमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले ग्रामिण क्याम्पसहरुको भौतिक एवं शैक्षिक सुधारमा आफुले निरन्तर सहयोग गरेको बताउँदै भौतिक विकासले मात्रै नहुने भएकाले शिक्षालाई प्रभावकारी बनाउनु पर्ने बताए ।
डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटीले क्याम्पसमा भर्ना भएका विद्यार्थीले विचमै पढाई छाड्दा समस्या हुने गरेको बताए । उनले डुमरवाना कलेजमा भर्ना भएका ४० प्रतिशत छात्रछात्राले विचमै पढाई छाड्ने गरेको सुनाए । थप बैदेशिक शिक्षा, रोजगारका लागि विदेशिने, विवाह गरी जानेसँगै आर्थिक र पारिवारिक समस्याले विचमा पढाई छाड्ने गरेको देखियो, उनले भने । संचालनमा आर्थीक अभाव झेल्दै आएको बताउँदै उले २ करोड रुपैंयाको अक्षय कोष निर्माणमा आफुहरु जुटेको सुनाउँदै सबैलाई सहयोगको अपिल समेत गरे ।
कलेजले विशेष अवसर पारेर कलेज निर्माण र संचालनमा योगदान गर्ने दाताहरुलाई सम्मान गरेको छ । यस्तै कलेज परिषरमा निर्माण गरिएको शैक्षिक स्तम्भमा टाँसिएको दाताहरुको नामावलि सहितको शिलालेखको समेत अनावरण गरिएको थियो । पूर्वमन्त्री श्रेष्ठ सहितका अतिथिले स्तम्भको अनावरण गरेका थिए ।
कलेजले १७ औं बार्षिकोत्सव तथा १८ औं स्थापना दिवसलाई साताब्यापी रुपमा मनाईएको थियो । रक्तदान, प्रभातफेरी, विद्यार्थीहरु सम्मीलित विभिन्न विधाका खेल तथा प्रतियोगिता समेतको आयोजना गरिएको क्याम्पस प्रमुख शिवाकोटीले जानकारी दिए ।
म्यूजिकल चेयर, दौड,घैंटो फुटाई, हाजिरी जवाफ, भलिबल, कविता बाचन सहितका कार्यक्रम भएका थिए । यस्ता कार्यक्रममा ३ सय बढी छात्रछात्रा सहभागि भएका थिए । उनीहरु मध्येका विजेताहरुलाई समेत मेडल सहितको प्रमाणपत्र विहिबारको विशेष अवसरमा वितरण गरियो ।
स्नातक मात्रको अध्यापन हुने क्याम्पसमा हाल मानविकी , शिक्षा र ब्यवस्थापन गरी ३ शंकायमा अध्यापन हुँदै आएको छ । ३ सय जना छात्रछात्रा अध्यायनरत छन् । जस्मा छात्राको संख्या ८० प्रतिशत रहेकाले धेरैले छोरीबुहारी क्याम्पस भन्ने सुनेको क्याम्पस प्रमुख शिवाकोटीले बताए ।
क्याम्पस संचालक समितिका अध्यक्ष पलट प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख भोला प्रसाद अधिकारी, दानविर डा. बद्रिराज पाण्डे,कृषि अनुसन्धान केन्द्र परवानिपुरका प्रमुख डा. विपि यादव लगायतको कार्यक्रममा सहभागिता थियो ।
कार्यक्रममा क्याम्पसमा अध्यायनरत छात्रछात्राहरुले गीत, नृत्य समेत प्रस्तुत गरेका थिए । कलेजका प्रोफेसर रंजित सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएकको थियो ।