बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका कृषि बजारलाई आवश्यक पूर्वाधार सहितको दिगो ब्यवस्थापनमा सहयोग गरिदिन नेपाल सरकारका कृषि मन्त्रीसँग आग्रह गरिएको छ ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले कृषिमन्त्री रामनाथ अधिकारीलाई विहिबार सिंहदरबार स्थीत कृषि मन्त्रालयमा उनको कार्यकक्षमा पुगेर यस्तो अनुरोध गरेका हुन् ।
मधेश प्रदेश पर्यटन तथा हवाई यातायात समितिका सभापती र नाटाका अध्यक्ष समेत रहेका लामिछानेले कृषिलाई पर्यटनसँगै जोडेर समग्र मधेश प्रदेशको विकास र विस्तारमा कृषि सेड लगायतका पूर्वाधारमा लगानी गरिदिन आग्रह गरिएको बताए ।
कृषि मन्त्री अधिकारी सहित पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंहसँग भेटगरी कृषि, मधेश प्रदेशको पर्यटन प्रवद्र्र्धन ,जीतपुरसिमरा उपमहानगरमा कृषि सेड निर्माण ,बहु उदेश्यीय तालिम केन्द्र भवन एवम् कृषिको बिकासका सम्बन्धमा आग्रह गरियो, उनले भने ।
हाम्रो आग्रहप्रति सकारात्मक देखिएका कृषि मन्त्री अधिकारीले उद्योग बाणिज्य संघले पालिकासँगको सहकार्यमा आवश्यक योजना लिएर छिट्टै आउन भन्नुभएको छ । पर्यटन सचिव सिंहले यस्ता कार्यक्रममा राज्यले दिल खोलेर सहयोग गर्नुपर्ने भन्दै योजना ल्याउन भन्नु भएकाले हामी त्यसको तयारीमा जुट्ने छौं ,छामिछानेले बताए ।
कृषिलाई ब्यवसायिक बनाउन बजार र बजारलाई दिगो बनाउन सेड, गोदाम, कोल्डस्टोरेज सहितका पूर्वाधार जरुरी हुन्छ । ब्यवस्थीत बजार भए उत्पादन राम्रो गर्न सकिन्छ ।
यसलाई पर्यटनसँग जोड्दा थप टेवा पुग्ने हुँदा काठमाण्डौ आएर कृषि मन्त्रीसँग आग्रह गरिएको हो ,बाणिज्य संघ अध्यक्ष लामिछानेले बताए । कृषि मन्त्री अधिकारी एवं पर्यटन सचिव सिंहसँगको भेटबार्तामा मधेश प्रदेश पर्यटनकर्मी एवं संचारकर्मी ललिता साहको समेत सहभागिता थियो ।