|फोटोमा : बडहर्वामा कृषि बजार लगाउने विषयमा बसेको बैठकका सहभागिहरु ।
बारा ।जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा आउँदो माघ ३ गतेबाट ग्रामिण कृषि बजार संचालनमा आउने भएको छ । सोमबार बडहर्वा स्थीत मौवा देवी यूवा क्लबको सभाहलमा बसेको स्थानिय संघसंस्था, सहकारीका प्रतिनिधि, टोलसुधार समितिका पधादिकारी एवं वडाक्षेत्रका सामाजिक अगुवाहरुको भेलाले बजार संचालनमा ल्याउने निर्णय गरेका हुन् ।
तत्कालका लागि वडा नं.१८ बडहर्वा चौक स्थीत जैतापुर जाने फराकिलो सडकको दाँयाबाँया, भित्र टोल छिर्ने सडकहरुमा ब्यपारक्षेत्र निर्धारणगरि हरेक सोमबार र विहिबार गरी हप्ताको दुई दिन बजार संचालनमा ल्याउने निर्णय भएको हो ।
बजार लगाउने सम्बन्धमा बसेको भेलाले स्थानिय अगुवा विमलराज भारतीको अध्यक्षतामा सात सदस्य बजार संचालक समिति र वडा नं.१८ का पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहालको संयोजकत्वमा पाँच सदस्य सल्लाहकार समिती समेत बनाएको छ ।
संचालक समितिको उपाध्यक्षमा गोपाल सुवाल, सचिवमा निर्मल कुमार यादव,कोषाध्यक्ष पुष्पराज खतिवडा र सदस्यहरुमा मधुसुधन महत्तो, किरण आचार्य र दिपेश कुमार दाहल रहेका छन् ।
यस्तै सल्लाहकार समितिमा पूर्व वडाअध्यक्ष दाहाल सहित हुत्तराज ढुँगाना, बसन्त कुमार खतिवडा, प्रमोद प्रसाद पौडेल र राजन कुमार पौडेललाई राखिएको संचालक समितिका अध्यक्ष विमलराज भारतीले जानकारी दिनु भयो ।
यहाँका उत्पादन विक्रिका लागि अन्यत्र लैजानु पर्ने , स्थानियबासीलाई तरकारी लगायतका सामान किन्न टाढा जानु पर्ने बाध्यताको बजार संचालनमा आएसँगै अन्त्य हुनेमा विश्वस्त छौं । कृषि बजार संचालनमा आउनु आफैंमा खुशीको कुरापनि हो । बजारको आगामी माघ ३ गते उद्घाटनको मिति तय गरिएको उहाँले बताउनु भयो ।
बजारमा आउने ब्यपारी तथा ग्राहकका मालसमान शुरक्षाको पहिलो जिम्मेवारी समितिले लिने छ । यस्तै ब्यपारिलाई ब्यपारकाक्रममा राती बास बस्नुपर्ने वा सामान राख्नु पर्ने हुँदा निःशुल्क सोको ब्यवस्थापन गरिदिनेछ । भने उद्घाटनका दिन पसल संचालनमा ल्याउनेलाई विशेष पुरस्कारको पनि ब्यवस्थाकालागि प्रयास भैरहेका अध्यक्ष भारतीले जानकारी दिनुभयो ।
बडहर्वा पौष २५ देखी माघ ७ गते सम्म महोत्सव संचालनमा आउँदैछ । सोको समापनका अवसरमा बजार संचालनमा ल्याउन लागिएको समितिका सचिव निर्मल कुमार यादवले बताउनुभयो ।