मनहर्वा,बारा : जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड फत्तेपुरको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्था परिषरमा आयोजना गरिएको बार्षिक साधारणसभाको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले उद्घाटन गर्नु भएको थियो ।
प्रमुख अतिथी सहनीले सहकारीले आफ्ना सदस्यहरुको आम्दानी वृद्धिका लागि उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो । विशेषगरी ग्रामिण सहकारी संस्थाहरुले कृषिलाई मुख्य प्राथमिता दिनु पर्ने धारण राख्नु भयो ।
संस्थाले साविक फत्तेपुर गाविस तथा जीतपुर गाविसका केही वडाका गरी ७३ जना पुरुष सहित २ हजार १५६ जना सदस्यका विच ३३ करोड ५० लाख बढीको कारोबार गर्दै आएको बार्षिक प्रतिवेदनमा उल्लेख छ । साविक जितपुर हाल जितपुरसिमरा वडा नं. ५ मा समेत सेवाकेन्द्र कार्यालय खोली सेवा दिँदै आएको संस्थाले बार्षिक साधारणसभाका अवसरमा एकदर्जनबढीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
आयोजक सहकारी संस्थाका संस्थापक अध्यक्ष जगदेव राउत विन, पत्रकार पुष्पराज खतिवडा सहित २३ जना जेष्ठनागरिक, उत्कृष्ठ कारोबारकर्ता, सदस्य परिवारका प्लसटु उतिर्ण विद्यार्थी, समुहहरुलाई दोसल्ला, नगद, प्रमाणपत्र सहित सम्मान एवं स्प्रटंकी र प्रेसरकुकर सहित पुरस्कृत गरिएको थियो ।
संस्थाका सभामा अध्यक्षको प्रतिवेदन, लेखासमितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन एवं चालु तथा आगामी बर्षको बजेट र कार्यक्रम सुझाव सहित पारित गरेको छ । सभाले आ.व. २०८०।०८१ को मुनाफाबाट १४ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको संस्था प्रबन्धक कविता कुमारी बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१२ श्यामबाबु खाँ, वडा नं.५का दिपेन्द्र चौधरी,साना किसान कृषि सहकारी संस्था लिमिटेड भोडहाका विन्दासिंह, हरैयाका रामलखन चौधरी, प्रसौनीकी रुना देवी करवार, सपहिकी अध्यक्ष स्थानिय समाजसेवी ईश्वर कुमार ढकाल, अक्षलाल चौधरी, रामबहादुर चौधरी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
संस्था अध्यक्ष जयकिसुन प्रसाद चौधरी को अध्यक्षता ,उपाध्यक्ष सुशिला चौधरीको स्वागत एवं सहायक प्रबन्धक अश्विन कुमार चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।