बारा ।
प्रसौनी उद्योग वाणिज्य संघको दोस्रो सधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटनका अवसरमा सहभागी उद्योगी व्यापारीका अगुवाहरुले अहिले चाडपर्वको मुखमा बजार अनुगमनका नाममा नियामक निकायले व्यापारीहरुले अनावश्यक दुःख दिने काम गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहभागी रहेको कार्यक्रममा व्यापारीका नेताहरुले अनुगमनका नाममा व्यापारीलाई अतंकित बनाउने काम भइरहेको बताएका हुन् । बारा र पर्साका स्थानीय बजारमा अहिले अनुगमनको आतंक देखिएको र त्यसबाट वैध व्यापार गर्ने व्यवसायीहरू बढी प्रताडित भएको उनीहरुले बताए ।
बुधबार बाराको प्रसौनीमा भएको साधारणसभा उद्घाटन समारोहमा सहभागी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्नेमा वैध कारोबार गर्ने व्यापारीलाई दुःख दिने काम बढी भएको आरोप लगाए । प्रहरी प्रशासनको यो रवैयाप्रति उनले असन्तुष्टि जनाए । नेपालीहरूको चाडपर्व दशैं शुरू हुन लाग्दा बजारमा अनुगमनका निकायले व्यवसायीहरूलाई आतंकित बनाएको अध्यक्ष अग्रवालले बताए ।
चाडपर्वका बेला अनुगमनका कारण व्यापारीहरू आआफ्नो व्यवसाय बन्द गरेर भाग्ने अवस्था आएको जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए । उनले बजार अनुगमनमा खटिएका कर्मचारीले व्यवसायीहरुलाई तर्साउने गरेको भन्दै समस्याको सुझाव भन्दापनी कर्मचारीहरुले जरिवाना उठाउन मात्रै आएको जस्तो देखिएको उनले धारण राखे ।
बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले आफूहरूले उपभोक्ताको हितलाई समेत ध्यानमा राखेर काम गरिरहेको स्पष्ट पार्दै व्यापारीले पसलमा म्याद सकिएको सामान बेच्ने अनि कारवाही भयो भनेर गुनासो गरिरहेको उल्लेख गरे ।
उनले यसो गर्न नमिल्ने तर्क पनि गरे । व्यवसायीले व्यापार गर्दा उपभोक्ता हित र अधिकारलाई समेत सम्मान गर्न आग्रह गरे । उनले अनुगमनको पूर्वतयारी बैठकमा व्यापारीलाई अनावश्यक हैरानी नपुग्ने गरी अनुगमन गर्न निर्देशन दिएको स्पष्ट पारे । कार्यक्रम प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुलसीप्रसाद गुप्ताको अध्यक्षतामा भएको थियो ।